कथा : फूलमाया र जेनीहरू

सीता अर्याल
६ माघ २०८० ७:०७

यात्रामा धेरै प्रकारका मानिसहरू भेटिनु स्वाभाविकै हो। बसकै यात्रा, सामुन्नेको सिटमा नै बसी एउटी चिटिक्क मसिनो जिउ सहितकी सुन्दरी। ऊ धेरै प्रफुल्ल देखिन्थी।

कानमा इअरपड लगाएकी छे। हाँसोको मूल फुटेको फुट्यै छ। किन हाँस्छे? म अत्यन्त अनभिज्ञ छु। गीत, कविता, गजल सुनेर हाँसेकी हो? या त कुनै हँस्यौली, ठट्यौली सुनेर हाँसेकी हो। एउटी बैशालु सुन्दरीको बैँशको कुत्कुत्याई पनि त हुन सक्छ त्यो हाँसो, अनुमान लगाउन गाह्रो भयो। दायाँ, बायाँ, अगाडि, पछाडि यात्रुहरू खचाखच छन् । उसले भने सायद कसैलाई देखेकी छैन। त्यसैले त बेलाबेलामा हाँसोको फोहरा छुट्छ!

मानिसले विभिन्न कालखण्ड पार गर्दै जाँदा तन्नेरी बयको उमेर अति नै ऊर्जाशील मानिन्छ। यो आफू जिउनका लागि स्वयंलाई कस्तो करिअरमा ढाल्ने भन्ने कुराको सुनिश्चित गर्ने बेला हो। जिन्दगी जिउने क्रममा सहज र असहज दुवै मार्ग हरेकको अगाडि ठिङ्ग उभिन्छ, रोज्न जान्नु या नजान्नु ब्यक्ति स्वयंको क्षमता, सीप र बठ्याँइभित्र पर्ने कुरा हो।

उसको पहिरन पनि उल्लेख गर्न लायक नै मान्नु पर्दछ। किनकि विन्टर सकिइसकेको थिएन। प्रायः सबै यात्रुहरू लङकोट, ज्याकेट, स्वेटर, बुट आदिमा थिए। तर उसका पहिरनचाहिँ मौसम अनुकुलको थिएन। स्कट अत्यन्त छोटो थियो।

तिघ्राका अलि-अलि भएका रौं राम्ररी टिपिएका थिए। साह्रै चिल्लो, सफा र पोटिलो देखिन्थ्यो। गोडामा खालि पातलो स्लिपर लगाएकी थिई। हात गोडामा नङ मिलाएर काटिएको थियो। त्यही स्लिपरको तुनासँग मिल्ने रंगको नेल पलिस लगाएकी थिइ। जे होस मज्जाले सुहाएको थियो।

एक अर्काप्रतिको आकर्षण अनुरागको पहिलो खुड्किलो हो। मानव स्वभाव जब कसैलाई अन्तरात्मादेखि चाहन्छ, आपसी हरेक सुख, दुःखको समान हकदार बन्न पनि राजी हुन्छ। एक आपसको दुःख दर्द स्वयंको चोट सरह महसुस गर्दछ। यस्ता अनुरागयुक्त आकर्षण नै विस्तारै प्रेममा परिणत हुन जान्छ।

उसको चञ्चले स्वभाव, बेला बेलाको हाँसो सहितका कृयाकलापले प्रायः यात्रुहरूको ध्यान आकृष्ट थियो। सिङ्गारेर खुलै छोडिएका तिघ्राहरूमा चिसोले गर्दा काँडा उम्रेका टड्कारो देखिन्छ तर पनि ऊ प्रफुल्लित छे। म सामुन्ने नै भएकिले नचाहेर पनि आँखा उतर्फ नै परिरहन्छ।

पहिरनले मात्र मानिसलाई आधुनिक या प्रगतिशील भनेर ठम्याउन सकिँदैन। आधुनिक बन्नका लागि त आफ्नो सोचमा परिवर्तन ल्याउनु जरुरी छ। कसैको फोन आएछ क्यारे, “आई एम् कमिङ हनी” भन्दै सुरू गरी र “लभ यु, बाई…..” बाट कुरो टुङ्ग्याइ।

अनुहारमा उस्तै कान्ति सहितको मुस्कान छ। भर्खरैको उसको संवादबाट पनि छर्लङ हुन्छ कि ऊ माया जालमा फसेकी वा फसाइएकी छे। म पनि त प्रेममा फसिसकेको एउटा अनुभवी लठुवा हुँ, त्यसैले त यस्ता कुराको अनुमान लगाउन सक्छु नि।

एउटी अर्की सुन्दरीले मलाई फसाएकी थिई। मानिसको सन्दर्भमा संगत जस्तो ठूलो कुरा केही हुँदो रहेनछ। भनिन्छ नि, “सङ्गतो जायते फलम्”। फेरि अनुहार अनि बाहिरी बोलिचालीबाट मात्र कहाँ मानिसको पूरा पहिचान हुन सक्दोरहेछ र?

आकर्षक अनुहार र जिउडाल भएकी सुन्दरीले खुब हाउभाउ गर्न थाली मसँग। साथी संगती सबैका गर्लफ्रेन्ड र ब्वाईफ्रेन्ड देखी आएको परिवेश थियो त्यो। एक्लो हुनाले जिन्दगी नै निरस अनुभव भैरहेथ्यो मलाई पनि। ऊ मेरो जिन्दगीमा एक्कासि प्रवेश गरी। म पनि उसको माया जालमा फसिहालेँ। छिट्टै नै हामी दुई प्राणी एउटै अपार्टमेन्टमा ओत लाग्न पुग्यौँ।

विकेन्डमा त ड्रिङ्स गर्नु पर्छ, सिमेमा,डिस्को जानु पर्छ। अर्थात् मोजमस्ती र मनोरञ्जन गर्नु पर्दछ भन्ने उसको भनाइ रहन्थ्यो। मचाहिँ गाउँघरमा हुर्केको मान्छे। प्रथमतः पढाइलाई नै अलि व्यवस्थित तरिकाले अगाडि बढाउन चाहन्थेँ। पढाइको समाप्तिपश्चात् निभाउनु पर्ने दायित्व र जिम्मेवारीहरूका लावालस्कर लामै छन् मेरा सामुन्ने। कुनै पनि कुलतमा फस्ने छैन भनी अठोट नै गरेको मान्छे थिएँ म।

नामै नसुनेका विभिन्न किसिमका ड्रिङ्सहरू सहित चुरोट पनि पिउन थाल्यौँ। फेरि डिस्को आदि इत्यादिमा लत बस्न थाल्यो। एक डेढ महिनासम्म त पैसाले पनि धानेकै थियो। पैसा उडाउन थालेपछि अड्कलेकोले के पुग्छ र? ऊ पैसा फिटिक्कै निकाल्दिनथी। मसँग दुहेको दुह्यै गर्थी। त्यसैले होला लभ गर्नु भनेको चाहिँ दुःख पाउनु हो जस्तो लाग्छ मलाई। किनकि म धेरै मुडिएको थिएँ। धेरै अशान्ति, अभाव खड्केको थियो ममा।

उसको नाम “जेनिफर” भए पनि ‘जेनी’ भनी बोलाउन अह्राएकी थिई। म त्यही बमोजिम “डियर जेनी” भनेर बोलाउँथेँ। ऊ पनि मेरो छोटकरी नामको अगाडि ‘डियर’ नै राख्दथी।

कलेजमा सेमेस्टरको सुरुमा तिर्नका लागि साँचेको पैसा मस्तीमा नै उडाइएछ। “छाँगोबाट खसे जस्तै” भएँ। अब के गर्ने कुनै उपाय सुझेन। गहिरो चिन्तामा परेँ। राति निद्रा पर्न पनि छाड्यो। मसँगको पैसा स्वाहा भएपछि त गुलाब जस्तो उच्च कान्तियुक्त मुहार फुङ्ग उडेको देखिन थाल्यो। आफ्नै अनुहार रून्चे देख्न थालेँ। हाँसो कता हरायो कता?

सधैँ झैँ उसले खुबै मायाको बहानामा टाउको मुसारिदिँदै भनेकी थिई “ड्रिंक आज पनि गर्नुपर्छ है”। म बोलिनँ। मलाई धेरै बेर हेरिरही। यही मौका पारेर “मलाई साह्रै चिन्ता लागेको छ। अब सेमिस्टरको सुरुमा नै कलेजमा शुल्क तिर्नु पर्छ। मसँग पैसा सकिएको छ। तिमीसँग भए सापटी दिन सक्छयौं? म पछि तिर्ने छु भनेँ।”

उसँग केही रकम छ भन्ने कुरा मलाई थाहा छ। तर ऊ केही बोलिन। बेलुका केही ड्रिंकस् चाहिँ ल्याई।

“ल अब पिउने, खाने रमाइलो गर्ने भनेर ड्रिङ्स ग्लासमा खन्याई। चेयर्सको लागि अगाडि बढाई। मन नलागे पनि ग्लास जुधाई दिएँ। “पिउनुमा जस्तो मजा अरु केमा छ डियर” भन्न थाली। त्यसैले होला उसले धेरै नै पिई, मज्जाले पिई।

म बबुरोले आफूले खनेको खाडलमा क्रमश:आफैं भासिँदै गएको महसुस गरेँ। पहिले धेरै पटक मीठो मानेर पिएको पदार्थ आज कलविष सरह लाग्यो। जति ऊ मात्दै जान्थी उति मेरो नयन भरिएर आउँथ्यो। मुटु भक्कानिएर आउँथ्यो। घर गृहस्थी र व्यवहारहरू आँखा सामु आएर टड्कारै नाच्न थाल्थ्यो।

“तँ बाबु आमाको आशाको किरण होस्। यसरी बिग्रनु हुन्छ? बर्वाद हुँदै छस्। संगत छाडिदे त्यसको। पहिलेको तँ नै अच्छा थिइस्। आफ्ना सब दायित्व भुलिस्”? यस्तै यस्तै संवादहरू अन्तर मनले बारम्बार गरिरह्यो।

“डियर! चिन्ता नगर। यो सेमिस्टरको फि म तिरिदिन्छु”। जिब्रो धेरै नै लर्बराउँदै उसले भेनेकी थिई। त्यसपछि मलाई ग्वाम्लाङ्ग अँगालो हाली। ओछ्यानमा तानी। मेरो घाँटीमा उसको दुवै हातले बेरी।

ऊ मस्त निद्रामा परी। बिस्तारै उसका हात म बाट पन्छाएँ। तकिया मिलाएर पातलो सिरक ओडाइदिएँ।

उसले नसामा लठ्ठिएका बेला फि तिरिदिन्छु भनेपनि मलाई पटक्कै विश्वास भएन। किनकि यो भन्दा पहिले मेरै खर्चमा मात्रै दाइँ गरेकी थिई। मातेकी थिई, नाचेकी थिई ।तर आफ्नो मु्ठ्ठी बलियोसँग कसेर भविष्यको जोहो गर्न नसक्ने बेकुफी त मेरै थियो।

अब पढाइ खर्च जुटाउनका लागि सेमेस्टर ड्रप गर्नु सिवाय अर्को उपाय पाइनँ। मेरा बाबा आमालाई के भनुँ? कसरी मुख देखाऊँ?

“छोराले खुब मिहिनत गरेर पढेको छ। अब यति समयमा पढाई सक्छ। ग्राजुएसन सेरेमोनीमा हामी अमेरिका जानु पर्छ।” यस्ता विशाल खुसीका पहाड बोकी कुरेका छन् स्वदेशमा आमाबाबुहरू। “थुक्क” हजुरहरूको छोरो अहिलेदेखि नै यहाँ कसैसँग लठारिइसकेको छ। नजानिदो रूपमा दलदलमा भासिँदै छ एउटा जँड्याहाको रूपमा!

जेनी मस्त निद्रामा छे। मैले धेरै बेर एकोहोरो उसलाई हेरिरहेँ। शरीरभरि काँडामात्र उम्रिएनन्, जुरुङ समेत भयो।

मैले मेरो कर्तव्य र संस्कारलाई धेरै नै कुल्चिएँ। एउटी नारीसँग कोठाभित्र यसरी एउटै ओछ्यानमा सुत्ने अधिकार मेरो संस्कारले मलाई दिईसकेको छैन। मेरो संस्कार भनेको अनुशासनको संस्कार हो। मैले अनुशासनलाई पनि कुल्चिसकेको छु। घोर पाप गरेको छु। अब मैले प्रायश्चितको उपाय खोज्नै पर्छ।

जेनी कस्ती निस्फीक्री मान्छे? के उसको मनभित्र कुनै चिन्ताहरू छैनन्? मैले अनुशासन भङ्ग गरेँ भन्ने कुनै पश्चात्तापको अंश पनि होला?

तर जेनीहरूको संस्कार, समाज र मेरोमा धेरै फरक छ। मैले उनीहरूको खुल्ला समाजको नक्कल गर्न कदापि हुने थिएन। उसको अनुहार हेर्दा हेर्दै त मलाई उप्रति अति घृणा पैदा भयो। कुनै पनि हालतमा योसँग बस्नु उचित हुँदैन। म तुरुन्त छुट्टिनु पर्छ। भोलिदेखि नै म बेग्लै बस्छु भनेर मसक्क आँट गरेँ। जति रात छिप्पिँदो छ उति मेरो निद्रा गायब। झन्-झन् ताजा भएँ म।

पाँच बजे उठेर सावर लिई सकेको थिएँ। मन साह्रै नै आकुल-व्याकुल भएको थियो। बुबा आमाको अति नै न्यास्रो लागेर आयो । भिडियो कल गरेँ। सञ्जोगले बुवा अनलाइन हुनुहुँदो रहेछ। लिभिङ रुममा गएर मजाले उहाँसँग गफ गरेँ। दुःख सुख बाडेँ। केही हल्का महसुस भयो।

जेनी उठी। सावर लिन बाथरुम पसी। “डियर ब्रेक फास्ट रेडी गर ल।” उसको अडर थियो यो। यसअघि असाध्यै कर्णप्रिय लाग्ने यी बचनहरू आज पचाउन गाह्रो भैरहेछ। आफू देखेर आफैं छक्क परिरहेछु। जिन्दगीभर व्यहोर्छु भनेर उसँगसँगै बस्न सुरु गरेको त हो नि। तर ममा कति छिटै वितृष्णाले घरजम गरिसकेछ। अबचाहिँ कसरी उम्कूँ भएको छ।

ब्रेड सेकाएर पिनटवटर दलिदिएँ। अरेन्ज जुस अनि कफी ठीक पारिदिएँ। आएर कपाकप खान थाली र फेरि भनी-“डियर” आज त अम्लेट खान पाए पनि हुन्थ्यो। म नसुनेको जस्तो गरेर बाथरुम गएँ। ऊ आफैले बनाएर खाई।

मैले चाहिँ दुवैलाई बनाउनु पर्ने। उसले बनाउँदा चाहिँ एउटामात्र बनाई र आफैं मात्र खाई। अचम्म लाग्यो। तिमीले अम्लेट मेरा लागि बनाएकी छैनौं? मेरो कुरा भुईंमा खस्न नभ्याउँदैँ डियर! तिमी आँफै बनाएर खाऊ न ल” भनी। मैले अब तँसँग बसेर खानु धेरै छैन। सकेको छिटो छुट्टिने छु। मनमनै अठोट गरेँ।

बिहानको नौ बजिसकेको छ। तैपनि पैसाको कुरा निकाल्छे कि, आशाको त्यान्द्रोमा झुन्डिएको छु म। “छ महिनाको शुल्क मात्र तिर्न पाए देखाजाएगा”। कमसेकम सिमेस्टर ड्रप गर्न त पर्दैनथ्यो। त्यसपछि राती काम गरेर पनि अर्को सिमेस्टरको लागि जोहो गर्ने थिएँ। तर ऊ थुतुनो पो सिँगार्न थाली।

तैपनि अन्तिममा जेनीलाई एक पटक भनिहेर्नु पर्‍याे। मन पग्लिन सक्यो भने राम्रै हुन्छ। “तिमीले मेरो शुल्क तिरीदिन्छ्यौ त जेनी ? सकेको छिटो फर्काउने छु। बिश्वास गर”। तर अचम्म कुनै जवाफ नै दिइन। छाँगोबाट खसे झैँ भएँ। यो भन्दा बढि के गर्न पो सक्थेँ र? म लाचार मनुवाको पैतालाको जमिन भासिएको अनुभूति भैरह्यो।

“डियर चिन्ता नगर। यो सेमिस्टरको फि म तिरिदिन्छु” भनेर बचन दिएकी मान्छे, हाल आएर पैसाको कुरै गर्दिन। अनुरोध गर्दा कुनै प्रतिकृया नै जनाउँदिन। जेनीहरूका यस्ता अविश्वसनीय तथा स्वार्थजन्य व्यवहारहरू अनुभव गरिरहँदा मैले आफ्नै घर गाउँका असल, सुसंस्कृत फूलमायाहरूलाई सम्झन पुगेँ।

फूलमाया ….। तिम्रो रुप, तिम्रो कोकिल कण्ठी, मधुर आवाज, तिम्रा कला, तिम्रा माधुर्य …. आहा …। तिमीहरूलाई देख्न र भेट्न हतारिएको छु-म। बुबाआमाको चरणमा शिर राख्न आतुर छु। तर यहाँ साह्रै बलियो दाम्लाले बाँधिएको छु। फुस्काउन अझ धेरै नै धैर्यताका साथ कुर्नु आवश्यक छ मैले।

फूलमाया! तिमी प्रकृतिकी छोरी हौ। तिम्रो शरीरबाट निस्कने बुकीको बास्ना होस वा गोधुली साँझमा भर्खरै मुठीभरि धानको बिउ सकेर खोलामा हिलो पखाल्न लाग्दाका तिम्रा शरीरबाट निस्केका माटाका सुवास नै किन नहोस् ती मलाई सनलफाइभका सिर्का भन्दा पनि तिख्खर लाग्छ। कति निर्दोष अनि निश्छल छन् हगि तिम्रा व्यवहारहरू। सुसंस्कार र संस्कृतिको अर्को नाम नै फूलमायाहरू हुन् भन्ने कुरामा दुबिधा छैन।

जेनीले एकातर्फ हिजोको आफ्नो बचनबध्दताप्रति ध्यान दिइन, अर्कातर्फ प्रेमीको दुःखमा साथ दिन आवश्यक ठानिन।बरु खुरुक्क गाडी स्टार्ट गरेर एकै छिनमा वेपत्ता भई।

जति पिर परे पनि भोक त लाग्दो रहेछ। त्यही पिर मान्न पनि त शक्ति चाहिन्छ क्यारे। त्यसैले खानै पर्‍याे ब्रेड, जुस, चिया खाएँ।

रातभरि झिमिक्क नगरेकाले आँखा अप्ठ्यारो भैरहेको थियो। त्यसमाथि पनि आफ्नो घरगाउँ सम्झेँ। तिनै निश्छल फूलमायाहरू सम्झेँ। दिलबहादुरहरू सम्झेँ, आमाबाबा सम्झेँ। टाउको पनि भारी थियो।त्यसैले ओछ्यानमा पल्टेँ।

आँसुको मूल अविरल फुटिरह्यो। सिरानीमा झरिरह्यो तप् तप्। मेरो जिन्दगीमा यति धेरै आँसु आजका दिनसम्म कहिल्यै झरेका थिएनन् ।फूलदानीको वैलिएका गुलाबका थुङ्गाले मलाई नै एकोहोरो हेरिरहेका थिए।

हाल- म्याडिसन, अमेरिका।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *